"मेरो जन्म २०२९ साल चैत्र २५ गते ओखलढुंगा जिल्ला थाक्ले गाविसको हिलेपानी गाउँमा भएको हो । मेरो बुबा मानबहादुर राई र आमा धनलक्ष्मी राई हुन्। म अत्यन्तै विकट ग्रामिण क्षेत्रमा जन्मेको हूँ । म एक सर्वसाधारण निम्न मध्यम वर्गको मान्छे हूँ । मेरो शिक्षा गाउँ कै श्रीमहादेवस्थान प्रा.वि., हिलेपानीमा, त्यसपछि हर्कपूर नि.मा.वि. हर्कपुरमा भयो । माध्यमिक तहको शिक्षा चाहिँ श्री भगवति मा.वि. मानेभन्ज्याङ, ओखलढुंगामा भएको हो र उच्च शिक्षा कानुनमा हो । कानुनमा आई.एल., वि.एल. दुईवटै नेपाल ल क्याम्पस काठमाडौमा पढेको हूँ । व्याकुल माइला मेरो साहित्यिक उपनाम हो ।मैले ०४६ सालमा एस.एल.सी. दिएर बसेको बेलामा जनआन्दोलनलाई नजिकबाट सहयोग गरेको थिएँ । आन्दोलनको एक किसिमको माहोल बन्दै थियो । यहाँ काठमाडौबाट लगिएको पर्चा पम्प्लेट गाउँमा पुगेपछि मैले पनि बाँडनको लागि केहि जिम्मा लिएँ । त्यो प्रशासनले थाहा पायो । त्यसपछि प्रहरी प्रशासनले मलाई समात्न आयो तर म भागेँ । त्यसपछि जव परिवर्तन सफल भयो । हामी चाहिँ एक किसिमले गाउँको युवा नेता जस्तो भयौं, हाम्रो मनोवल उच्च थियो । अनि हामीले त्यो संक्रमणकालीन अवस्थालाई गाउँका युवाहरु मिलेर व्यवस्थापन गर्नुपर्छ भनेर 'हिलेपानी युवा समूह' नामक संगठन बनायौं । त्यसको म अध्यक्ष भएँ । मुख्य रुपले हाम्रो त्यो समूहको काम चाहिँ बहुदलीय प्रजातन्त्रको बारेमा जनतालाई सचेत बनाउने, गाउँमा के कस्तो विकास निर्माणका कार्यहरु गर्नुपर्छ भन्ने सन्दर्भमा एउटा भिजन बनाउने काम गर्यौं । त्यसरी गर्दै गए पछि आफू एक किसिमले सामाजिक र राजनीतिक क्षेत्रमा जानी नजानी सार्वजनिक जीवनमा प्रवेश गरिएछ । त्यही ०४६ सालमा एस.ए.सी. पास गरेर उच्च शिक्षाको लागि काठमाडौ आएं । एस.एल.सी. पास गरेर आएको मान्छे यहाँ समायोजनको समस्या भयो । काठमाडौमा हामी जस्तॊ गाउँबाट आएको एउटा गाउँले त्यो पनि नव युवालाई वडो विरानो लाग्ने भिडहरुकोबीचमा पनि एक्लो भएको जस्तो अनुभव भयो । र त्यो हाम्रो शैक्षिक योग्यताले यहाँको कुनै पनि काम गर्न नभ्याउँने स्थिति थियो । यहाँ विकास यस्तो चाहिन्छ, उस्तो चाहिन्छ भन्ने हाम्रो पहँुच भन्दा बाहिरको कुरा थियो । यस्तो भएपछि युवा साथीहरुबीच गाउँमा गरिएको कामहरुको संझनाले म एक किसिमले व्याकुल भएँ । गाउँमा जस्तो सामाजिक गतिविधि समूहमा आवद्ध भएर केहि गर्ने काम काठमाडौमा नभए पछि एक्लै के गर्न सकिन्छ भन्ने भयो ।त्यसपछि साहित्य पनि त सार्वजनिक जीवनको पाटो हो भन्ने लागेर मैले ०४७ सालदेखि साहित्यमा हात हाल्न थालें । त्यहि बेला मैले आफ्नो उपनाम पनि 'व्याकुल माईला' राखें । माइला चाहिँ म माईलो छोरा भएकोले र गाउँका साथीहरुको सम्झनाले व्याकुल यी दुवै मिलाएर 'व्याकुल माइला' राखेको हूँ । र समाजलाई नयाँ नामबाट नयाँ पचियबाट केहि दिन सकियो भने समाजले चिन्छ, राष्ट्रले चिन्छ भन्ने लागेको थियो । त्यही क्रममा व्याकुल माइला मेरो साहित्यिक उपनामको रुपमा रहन गयो ।अहिले व्याकुल माइला एक्कासी व्यापक चर्चामा आएको सहि हो । यद्यपी म २०४७ सालदेखि नेपाली सहित्यमा व्याकुल माइलाको नामबाट आफनो बुताले भ्याएसम्म कलम चलाउँदै आएको छु । म गजल, गीत, मुक्तक संस्कृतिमूलक, विशेष गरी आदिवासी जनजातिहरुको संस्कार संस्कृतिको बारेमा लेखहरु लेख्दै आएको मान्छे हूँ । र, साहित्य निकै कठिन र निरन्तर साधना गरी राख्नुपर्ने विधा हो । म त्यहि साधनामा निरन्तर लागेको १५, १६ वर्ष भइसकेको अवस्था छ । साहित्यमा मलाई चर्चा परिचर्चा भन्दा पनि जुन विधामा कलम चलाएको छु त्यो विधामा राम्रो निपुणतापूर्वक कलम चलाउन सकियोस भन्ने कुरामा विश्वास गर्छु । त्यसैले यो भन्दा अगाडी चर्चा परिचर्चाको दायरा भन्दा बाहिर थिएँ । केही विधामा केही सुधार ल्याउन सकियोस् र अरु आयाम थप्न सकियोस् भन्ने सामान्य सर्जक हुँ । त्यसको उदाहरण के हो भने मैले २०५९ सालमा नेपाली गीती संग्रह भन्ने किताव सम्पादन गरेको थिएँ । २५९ पृष्ठको त्यसमा देवकोटा, सम जस्ता अग्रज अघिल्लो पुस्ताका स्रष्टाहरुदेखि लिएर अहिलेको नयाँ भर्खरै गीत लेख्ने श्रष्टासम्मको केही गीत समावेश गरिएको थियो ।त्यसैगरी, त्यो संग्रहमा नेपाली गीतको सैद्धान्तिक पक्षको बारेमा संरचनागत पक्षमा प्रकाश पारेर ती विधामा कलम चलाउने स्रष्टाहरुको विधागत दक्षतालाई वृद्धी गर्नको लागि सहयोग मिलोस् भनेर गीतको सैद्धान्तिक पक्षलाई समेटेको तीनवटा लेखहरु समेत छापियो । निरन्तर लागियो भने त्यो विधाले कुनै न कुनै दिन चिनाउँछ । तत्काल कुनै चर्चा परिचर्चा नभए पनि त्यो आफ्नो क्षमता, प्रतिभा कुनै न कुनै दिन उजागर हुन्छ भन्ने कुरामा मलाई विश्वास लाग्छ । अहिले आएर राष्ट्रगानको सर्जक हुने सौभाग्य पाएँ । र केहि हदसम्म आफनो लक्ष्य पुरा भएको मलाई महशुस भएको छ । म एउटा सर्वसाधारण व्यक्ति हुँ र मेरो वास्तविक नाम प्रदिपकुमार राई हो ।"राष्ट्रगानका रचनाकार व्याकुल माइलासँग हाम्रा काठमाडौं स्थित सम्पादन सहकमीं खगेन्द्र माखिमले यो साता युएस नेपाल अनलाइनका लागि लिनु भएको बिशेष कुराकानी:युएस नेपाल अनलाइन: गीत र राष्ट्रगानमा के फरक छ?व्याकुल माइला: राष्ट्रगान पनि एउटा गीतै हो । गीतका पनि थुप्रै धार हुन्छन् । माया-प्रेमका, कुनै ईस्वरी भक्तिभावको, कुनै सामाजिक चेतना फैलाउने किसिमको चेतनामूलक, कुनै राजनीतिक विचारधाराबाट जागृत भएका गीतहरु । त्यही क्रममा राष्ट्रगान पनि राष्ट्रियताको भावनाले भरिएको एउटा गीतै हो । मुख्यगरी राष्ट्रगान जनयुद्ध र जनआन्दोलनको उपलब्धी हो । त्यतिमात्र होइन शदियौंदेखि मुलुकमा पछाडी पारिएका आदिवासी जनजातिको आवाज हो यो । आदिवासी जनजाति आन्दोलनबाट आएको उपलब्धी पनि हो । के हो भने पहिलाका कुनै सामान्ती शासकहरुको गुणगान गाउने थियो भने उही संस्थालाई, उही व्यक्तिलाई नै राष्ट्रको प्रतिक मानिन्थ्यो । त्यो शक्ति भएन भने यो देशमा राष्ट्रता रहँदैन र राज्य रहँदैन भन्ने भ्रम थियो । अर्कोतिर एकल जाति, धर्म र संस्कृति नै यहाँको राष्ट्रियता हो भन्ने परिभाषा गरिएको थियो । यो देश विविध जाति, भाषा, धर्म, संस्कृतिले भरिएको मुलुक हो । यो कुराहरुको वोध नभएसम्म विविध जाति, भाषा, धर्म, संस्कृतिको सम्वोधन नभएसम्म वास्तविक राष्ट्रियता अथवा राष्ट्र निर्माण हुँदैन भन्ने कुराको चेतना जनआन्दोलनले अझ उजागर गर्यो ।युएस नेपाल अनलाइन: अहिलेसम्म तपाईंको रचना कति प्रकाशित छन्? कुन कुन सस्थासँग सम्बद्ध हुनुहुन्छ?व्याकुल माइला: मेरो फुटकर रचनाहरु लगभग सयको हाराहारीमा विशेष गरी विभिन्न पत्रपत्रिकामा छरिएर छापिएको हुन सक्छ ।युएस नेपाल अनलाइन: तपाईं कुन कुन सस्थासँग सम्बद्ध हुनुहुन्छ?व्याकुल माइला: म सम्बद्ध रहेको क्षेत्र भनेको मानव अधिकारको क्षेत्र हो । हामीले २०५६ सालमा मानव अधिकारवादी र कानुन व्यवसायी भन्ने संस्था स्थापना गरेका थियौं नेपाल ल क्याम्पसमा पढने यूवा साथीहरु मिलेर । जुनवेला देशमा मानव अधिकारको स्थिति दयनीय अवस्थामा थियो । अर्को, म आदिबासी आन्दोलनमा पनि संलग्न छु । नेपाल ल क्याम्पसमै पढदा हामीले आदिवासी विद्यार्थी समाज भन्ने संगठन खडा गरेका थियौं । त्यो यद्यपी छदैंछ । यसमा पनि म सम्बद्ध रहेँ । ओखलढुंगाको व्यक्ति भएकोले देशको प्रजातान्त्रिक आन्दोलनमा त्यो जिल्लाको ठूलो भूमिका छ । यसरी यो लोकतान्त्रिक मुभमेण्टमा सहभागी भएँ । कतिपयले स्वेच्छिक पक्राउ दिए मैले दिईन । पक्राउ पर्न लाग्दा पनि म भागेँ । किन भने आफै पक्राउ परेपछि कसरी आन्दोलन गर्ने ।युएस नेपाल अनलाइन: नयाँ राष्ट्रगानको रचनाकारको हैसियतले पुरानो राष्ट्रगानको बारेमा के भन्नु हुन्छ?व्याकुल माइला: हामी जहिले पनि अग्रज स्रष्टाहरुलाई सम्मान गर्छौ । पुरानो राष्ट्रगान हामीले पनि गायौं । त्यो बेलाको परिस्थिती अनुसार, त्यो बेलाको शासन कालमा मुलुकको शासनसत्ता त्यसरी संचालन भएकोले त्यो बेला सान्दर्भिक थियो होला । तर त्यहाँ कुनै व्यक्ति विशेषको मात्रै स्वस्तिक गाइएको छ । राष्ट्रियताको प्रतिक मानिएको छ । समग्र नेपाली जनता नै देशको शक्ति हुन् भन्ने कुरा त्यहाँ छैन । यो देश विभिन्न प्राकृतिक श्रोतसाधनले भरिएको छ । प्राकृतिक सम्पदाहरु छन् भन्ने कुरा पनि त्यहाँ छैन । त्यहाँ व्यक्तिको भजन छ, राष्ट्रको बारेमा त्यहाँ केही पनि छैन । त्यस कारणले त्यो बेला सान्दर्भिक भएपनि परिवर्तित यो समयमा सान्दर्भिक देखिएन ।युएस नेपाल अनलाइन: राष्ट्रगान तयार पार्ने क्रममा विदेशी राष्ट्रगानहरु अध्ययन गर्नु भयो होला के कस्ता रहेछन्?व्याकुल माइला: राष्ट्रगान तयार पार्ने सन्दर्भमा मैले राष्ट्रगानसँग सम्बन्धित विभिन्न लेखहरु पढें । विश्वको राष्ट्रगानहरु खास गरी सत्ताकै गुणगान गाएकोहरु भेटिन्छ । क्रान्तिबाट राजनीतिक परिवर्तन भएका मुलुकहरुमा निकै क्रान्तिकारी राष्ट्रगानहरु छन्। प्रगतिको गुणगान गाइएका छन्। कुनै देशका राष्ट्रगानहरु वास्तवमा कतै न कतै बायस भएको पाइन्छ । त्यही कुराहरुबाट बच्न सकियोस् भन्ने सचेतता हाम्रो राष्ट्रगानमा अपनाइएको छ । यहाँको सबै जनता प्राकृतिक श्रोतसाधन, हाम्रो इतिहास, यहाँको राजनीतिक परिवर्तन लगायत सबै कुरालाई स्थान दिने प्रयास गरिएको छ ।युएस नेपाल अनलाइन: यो नयाँ राष्ट्रगान कसरी लेखियो?व्याकुल माइला: जनआन्दोलनको सफलतापछि धेरै कुराहरु परिवर्तन गर्ने जनताको भावना अनुसार जनआन्दोलनको उपलब्धी स्वरुप सरकारले त्यही बेलामा राष्ट्रगान परिवर्तन गर्ने निर्णय गर्यो र कार्यदल पनि बन्यो । कार्यदलले राष्ट्रगानको अन्तरवस्तु तोकेर, मापदण्ड तोकेर आव्हान गरेपछि आफू साहित्यकार भएको कारणले यस क्षेत्रमा मेरो चासो बढयो । तै पनि सुनी राखेको लोकपि्रयता पाएको गीतलाई नै राष्ट्रगान बनाउने भन्ने कुराहरु उठेकाले शुरुमा मैले गीत पेश गरिन । मलाई तोलाको बोली खोलामा किन खेर फाल्ने जस्तो लाग्यो र पेशिन तर कार्यदलले विभिन्न ठाउँमा अन्तरकि्रया कार्यक्रम गरेर व्यक्ति हेरिन्न, सिर्जना हेरिन्छ, पुस्ता हेरिन्न, सिर्जना हेरिन्छ र प्रर्तिस्पर्धात्मक हुन्छ भन्ने प्रकृयाहरु भईसकेपछि र विश्वास भएपछि मैले राष्ट्रगान लेख्न थालेँ ।त्यसमा मैले जाने बुझे अनुसार राष्ट्र निर्माणलाई विषयवस्तु बनाएँ । राज्यप्रति सबै जाति, बर्ग, क्षेत्रका जनताले आफनो महशुस गर्न सकुन्, अपनत्वको भावना होस्, सबैको आत्मसम्मान होस् यहि कुरालाई समेटनु पर्छ । त्यहाँको प्राकृतिक श्रोतको बारेमा, सांस्कृतिक श्रोतसाधनको बारेमा सबै कुराहरु समेटनु पर्छ । अग्रगामी राज्यको परिवर्तनको कुरालाई सम्झनु पर्छ, यो देशको राष्ट्र एकता अखण्डता सबैलाई समेटनु पर्छ । यी कुराहरु मैले मनन गरेको थिएँ । तिनै कुराहरुलाई मैले अलिक सरल किसिमले अभिव्यक्त गर्ने प्रयास गरेँ ।राष्ट्रगान लेख्ने मेरो त्यो अवस्थामा मैले विहान उठ्दापनि राष्ट्रगानलाई कसरी नयाँ शैली र नयाँ किसमिले लेख्न सकिएला भन्ने सम्झन्थेँ । त्यस्तै ल फर्म जाँदा म साइकलमा जान्थेँ । साइकलमा गुडिरहँदा पनि त्यसैको शब्द र धुन गुनगुनाई रहन्थेँ । त्यसरी मैले राष्ट्रगान तयार गरें । यो तयार गर्न २०, २५ दिन लाग्यो ।यसको पछाडी के छ भने राष्द्रगान मैले कुनबेलादेखि सोचेँ भन्ने बारेमा भन्नु प्रसाङंगिक लाग्यो । ०५६ सालमा मानव अधिकार आन्दोलनमा थियौं । त्यतिबेला जनयुद्ध गर्ने माओवादीहरुलाई राज्यले आतंकवादी घोषणा गरेर ज्यादतिपूर्वक दमन गरेको बेलामा त्यसरी नगर, जेनेभा महासन्धी अनुमोदन गरेर त्यही अनुसार काम गरौं भनेर आवाज उठाएका थियौं । माओवादीका राजनीतिक कुराहरु राम्रा छन्, हत्या, िहंसाका गतिविधि जुन छन् त्यो मात्र गलत हो । शान्तिपूर्वक आन्दोलन गर्यो भने राम्रो हुन्छ भन्ने हामीलाई लाग्थ्यो ।त्यो बेलामा राष्ट्रगान श्रीमान् गम्भिर गाउँगाउँमा गाउन दिइएन भन्ने न्यूज पढें । त्यसपछि किन गाउन दिइएन भनेर त्यो पहिलो पटक श्रीमान् गम्भिरको अर्थ केलाएर हेरेँ । त्यहाँ राजाको गुणगान बाहेक केही रहेनछ भनेपछि हुँदैन यो ठिक रहेन छ भन्ने मलाई लाग्यो । जिन्दगीमा राष्ट्रगान फेर्नुपर्छ भनेर कुनै दिन आउँछ भन्ने त मलाई लागेको थिएन । यद्यपी राष्ट्रगान अलिक नयाँ किसिमको भए हुन्थ्यो भन्ने मलाई ०५६ सालदेखि लागेको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment